नेपालमा महिला भलिबल च्यालेन्जकाे धमाका हुने पक्का, नेपालका लागि नयाँ प्रशिक्षक पनि आईपुग्दै

काठमाडौं
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आयोजना हुने पक्का भएको छ । नेपाल भलिबल संघले प्रतियोगिता आयोजनाका लागि शनिबार काभासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरे। थाईल्याण्डको बैंककमा आयोजित काभाको बैठक दौरान सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित ८ देशले सहभागिता जनाउने छन् । प्रतियोगिताका लागि नेपालले महिला टिमको बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।
यसैबीच नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट यसै हप्ता नेपाल आईपुग्ने भएका छन् । नेपाल भलिबल संघका महसचिव रोशन श्रेष्ठले मुख्य प्रशिक्षक जान यसै हप्ता नेपाल आईपुग्ने जनाएको छ ।
महासचिव श्रेष्ठको अनुसार बेल्जियन प्रशिक्षक जान फागुन २४ गते बुधबार नेपाल आईपुग्ने छन् । ‘मुख्य प्रशिक्षक आगामी हप्ता नेपाल आउनु हुँदैछ । उहाँ मार्च ८ (फागुन २४) गते आउनु हुँदैछ,’ श्रेष्ठले भने ।
बेल्जिन प्रशिक्षक जान ६ महिनाको लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । उनले नेपालको महिला र पुरुष दुबै टोली हेर्ने छन् । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी) को सहयोगमा जान नेपाल आउन लागेका हुन् ।
एसियन गेम्सका लागि जानलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको हो । चीनमा आयोजना हुने एसियन गेम्समा नेपालको महिला र पुरुष भलिबल टोलीले सहभागिता जनाउदैछ ।
६४ वर्षीय प्रशिक्षक जान निकै अनुभवी प्रशिक्षक हुन् । बेल्जियमका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका जान डीले बेल्जियम र हंगेरीको राष्ट्रिय महिला टिम हेरिसकेका छन् ।