महिला भलिबलका २ हस्ति अरुणा र उषा, जसले जिते २ ठूला अवार्ड

काठमाडौं

भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो ।

यो विधामा शाहीसँगै क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए ।

उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी अरुणा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि उचाल्ने कप्तान हुन् ।

उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि जितेको थियो । उनी यो प्रतियोगितामा बेस्ट सेटर बनेकी थिइन् ।

यस्तै घरेलु प्रतियोगिता छैटौं एनभीए कपमा पनि उनी बेस्ट सेटर बनेकी थिइन् । वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी अरुणाले पल्सर मोटरसाइकल पुरस्कार पाएका छिन् ।

यसैगरी नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् ।

क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द भण्डारीले अवार्ड हात पारेकी हुन् । भोटिङका आधारमा विजेता चयन गरिएको यो विधमा उनले कुल ३८ प्रतिशत भोट पाइन् ।

विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत थियो ।

यो सबैबाट मिलाउँदा उनले ३८.०८ प्रतिशत मत पाएकी थिइन् । मनोनयनमा परेका अञ्जन विष्टले ३१.१४ प्रतिशत, आसिफ शेखले १४.९९ प्रतिशत, अभिलाषा विष्टले ८.३२ प्रतिशत र डुवान लामाले ७.५० प्रतिशत मत पाए ।

प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन ।

१८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् ।

यसकै आधारमा उनी यो अवार्डको मनोनयनमा परेकी थिइन् । उनलाई समर्थकले पनि मन पराएर भोट गरे र उनले यो अवार्ड जितिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु