नेपालले यूएईमाथि ठूलाे अन्तरकाे जित निकालेकाे केह मिनेटमै आईसीसीले यस्ताे लेख्याे

काठमाण्डाैं

सन् २०१८ मार्च १५ मा पहिलोपटक एकदिवसीय मान्यता पाएको नेपालले थप चार वर्षका लागि एकदिवसीय टिमको रुपमा खेल्न पाउने भएको छ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो।

यो नेपालले रनका आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो। यसअघि नेपालले सन् २०२१ मा पिएनजीमाथि १५१ रनको जित निकालेको थियो। लिग-२ को शीर्ष पाँच टिमको एकदिवसीय मान्यता कायम रहने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियमअनुसार नेपालका लागि आइतबारको खेल महत्वपूर्ण थियो।

जुन खेलमा पहिला ब्याटिङ गर्दै खराब सुरुवात गरे पनि नेपालका मध्यक्रमका ब्याटरले धैर्यपूर्वक इनिङ्ग्स सम्हालेका थिए। बलिङमा भने नेपालले पहिलो ओभरदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै युएईमाथि लगातार दबाब बढाएको थियो।

आइतबारको जितले नेपालको लिग-२ को शीर्ष पाँचभित्र पर्ने पक्का हुँदा अमेरिकालाई पछि पारेर अंक तालिकाको चौथो स्थानमा समेत उक्लिएको छ। आजको हारले युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिने सम्भावना सकिएको छ।

नेपालको जितले भने अमेरिकाको एकदिवसीय मान्यता लिग-२ बाटै कामय भएको छ। त्रिवि मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। आजको जितले लिग-२ को अंक तालिकामा चौथो स्थानमा उक्लिएको नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। आजको हारसँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ।

नेपालले आज युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग-२ बाटै जोगिएको छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ। लिग-२ बाट एकदिवसीय मान्यता जोगाउने असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ।

यसैबीच नेपालले यूएईमाथि ठूलाे जित निकाले लगत्तै आईसीसीले नेपालकाे खेलकाे खुलेरै प्रशंसा गरेकाे छ । खेल सकिएकाे केही मिनेटमै सामाजिक सञ्जालमार्फत आईसीसीले नेपालले धेरै राम्राे खेल प्रदर्शन गरेकाे भन्दै प्रशंसा गरेकाे हाे । नेपालले यूएईलाई १७७ रनले पराजित गरेकाे उल्लेख गर्दै उसले स्काेरकार्ड समेत शेयर गरेकाे छ ।

नयाँ अंक तालिका

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु