नेपालकाे ऐतिहासिक जितसँगै गुलशन र आरिफलाई मिल्ने भयाे ठूलाे पुरस्कार

काठमाण्डाैं
आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेकामा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई बधाइ दिएका छन्।
विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि गौरवपूर्ण जित हासिल गरेको भन्दै उनले नेपाली टिम, प्रशिक्षक तथा खेलाडीहरूलाई बधाइ दिएका हुन्।
‘खेलाडी राष्ट्रका गहना हुन्,’ उनले भने। मधेश प्रदेशका दुई खेलाडी गुलशन झा र आरिफ शेखको खेलको प्रशंसा पनि उनले गरे। ‘तपाईंहरूले देश र प्रदेशको सम्मान बढाउनुभएकोमा हामीलाई धेरै खुसी लागेको छ,’ उनले भने। यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे।
यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरूप मधेश प्रदेश सरकारको तर्फबाट दुई/दुई लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेल युएईविरुद्ध नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै मधेश प्रदेशले दुई खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।
आफ्नो प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आफ्नो खेलद्वारा मधेशको मान बढाएको बताए ।