अब नेपालले कसरी विश्वकप खेल्न पाउँछ त ? यस्ताे छ अबकाे बाटाे..

काठमाडौं
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने पक्का भएकाे छ । लिग २ बाट तेस्रो टिम बनेसँगै नेपालले छनाेट हेल्ने पक्का भएकाे हाे ।
लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लुइस (डीएलएस) पद्दतिअनुसार नौ रनको जित निकाल्दै याे उपलब्धि हासिल भएकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाको अन्तिम खेलमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
३११ रनको विजयी लक्ष्यसहित ब्याटिङमा आएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाइरहँदा भिजिबिलिटीका कारण खेल अघि बढ्न नसकेपछि डीएलएस पद्दतिअनुसार नेपाल नौ रनले विजयी भएको हो ।
जितसँगै ३६ खेलबाट ४० अंक जोड्दै नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । यूएईविरुद्धको जितपछि नेपालले ३९ अंकसहित तेस्रो स्थानमा रहेको नामिबियालाई उछिनेको हो ।
नेपालसँगको हारपछि यूएईको भने एकदिवसीय मान्यतासमेत गुमेको छ । लिग–२ को छैटौँ स्थानमा सीमित बनेको यूएईले ३६ खेलबाट ३३ अंकमात्र जोड्न सक्यो ।
नेपालमा भएको त्रिदेशीय शृंखलामा सहभागी तालिकाको पुछारको पपुवा न्युगिनी (पीएनजी) ले भने ३६ खेलबाट ११ अंकमात्र जोड्न सक्यो । लिग–२ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ । यस्तै, दोस्रो स्थानको ओमानको ४४ अंक छ । यी दुईले यसअघि नै भारतमा हुने एकदिवसीय विश्वकपका लागि हुने छनोटमा स्थान बनाइसकेका थिए ।
नेपालको जितमा चार ब्याटरले अर्धशतक बनाए । भीम सार्कीले ६७ रन बनाए । भीमले ७६ बलमा नौ चौका प्रहार गरे । आरिफ शेखले ६२ बलमा दुई चौकासहित ५२ रन बनाए । ओपनर कुशल भुर्तेलले पनि ३५ बलमा तीन चौका र चार छक्कासहित ५० रन जोडे । यस्तै, अविजित रहेका गुल्सन झाले ४८ बलमा चार चौका र दुई छक्कासहित ५० रन थपे । गुल्सनसँगै अविजित रहेका दीपेन्द्रसिंह ऐरीले १० रन बनाए ।
३७–३ को कठिन अवस्थामा रहँदा कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । यसपछि भीमले पाँचौ विकेटका लागि आरिफ शेखसँग ८३ रनको साझेदारी गरे । यस्तै, नेपाललाई जित निकाल्दासम्म अविजित रहेका गुल्सन र आरिफले छैटौँ विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । यूएईका जुनैद सिद्दिकीले तीन विकेट लिए । आयान अफ्जल खानले दुई र जहुर खानले एक विकेट लिए ।
त्यसअघि, आसिफ खानले ४१ बलमा शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो । यूएईका सातौँ नम्बरमा ब्याटिङका लागि आएका आसिफ खानले १०१ रन बनाए । उनले ४१ बलमा चार चौका र ११ छक्का प्रहार गरे । आसिफले छैटौँ विकेटका लागि अरविन्दसँग १३५ रनको अविजित साझेदारी गर्दै यूएईलाई विशाल योगफलसम्म पूर्याएका थिए ।
ब्रित्या अरविन्दले ९४ रन बनाए । अरविन्द १३४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । मुहम्मद वसिमले ६३ रन बनाए । वसिमले ४९ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । अविरन्दले दोस्रो विकेटका लागि वसिमसँग ७९ रनको साझेदारी गरेका थिए । यसबाहेक यूएईको खातामा रोहन मुस्तफाले २० रन जोडे । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । सन्दीप लामिछाने र ललित राजवंशीले समान एक विकेट लिए । निकै महँगो सावित भएका सन्दीपले १० ओभरमा ८० रन खर्चिए ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाएका छन् । बाँकी चार टिमले नामिबियामा मार्च २४ देखि अप्रिल ४ सम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्ने भएका छन् ।
प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई र लिग–२ को पुछारमा रहेका चार गरी कूल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा पीएनजी, यूएई, अमेरिका, नामिबिया, क्यानडा र जर्सी छन् । जर्सी र क्यानडा च्यालेन्ज लिगबाट आएका हुन् । नामिबियामा हुने क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगको पुछारमा रहेका पाँच गरी कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगका शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपका लागि स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रूपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ।