इतिहास रच्दै विश्वकप छनोटमा पुगेको नेपालका लागि अर्को ठूलो खुसीको खबर आयो

काठमाडौं।
नेपालले आईसीसी विश्वकप लिग टू मा बिहिबार युएईविरुद्धको खेल जितेर सिधै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ ।
बिहिबार भएको खेलमा युएईलाई डिएल पद्दती अनुसार ९ रनले पराजित गरेर नेपालले जिम्बाबे यात्रा तय गरेको हो । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।
खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले ।
कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिदा गुलशन ५० रनमा अविजित रहे। कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए ।
आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो
युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए। यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले ।
रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए । नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ लिए । युएईलाई हराएसँगै नेपालले लिग टूको तेस्रो स्थानमा रहदै जिम्बावेको टिकट काटेको हो ।
सन् २०१९ बाट सुरु लिग टूमा नेपालले ३६ खेलमा ४० अंक जोड्यो । र, नेपाल तेस्रो स्थानमा रहन सफल भयो । युएईले ३६ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहदै लिग टू को अन्त्य गरेको छ । लिग टू को उपाधि स्कटल्याण्डले जित्यो । शीर्ष स्थानमा रहेको स्कटल्याण्डले ५० अंक जोड्यो ।
ओमान पनि ४४ अंक जोडेर दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् । विश्वकप छनोट खेलमा नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउँने छ । नेपालले बिहिबारको खेलमा युएईलाई पराजित गर्दै विश्वकप लिग टूको शीर्ष ३ मा स्थान सुरक्षित गरेको छ ।
विश्वकप लिग टू को शीर्ष ३ मा स्थान बनाएको नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । विश्वकप छनोटमा नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउने छ । एकदिवसीय विश्वकप छनोटमा विश्वकप सुपर लिगको पुछारका ५ टोलीले विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । आयोजक जिम्बाबे तथा नेदरल्याण्ड्सले विश्वकप छनोटमा स्थान पक्का भइसकेको छ ।
टेस्ट राष्ट्रहरु आयरल्याण्ड,श्रीलंका,वेस्ट इण्डिज तथा दक्षिण अफ्रिका मध्ये तीनले विश्वकप छनोट खेल्ने पक्का रहेको छ । जुन राष्ट्र भए पनि तीन राष्ट्र टेस्ट मान्यता प्राप्त रहने छन् ।
नेपालले २०१८ मा एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाए पछि टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्ने अवसर पाउनेछ । केही टेस्ट राष्ट्रसॅंग लिस्ट ए मान्यताको एकदिवसीय खेल खेलेको भएपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्नेछ । जुन नेपाली क्रिकेटका लागि ठूलो खुसीको खबर पनि हो।