नेपाली राष्ट्रिय क्रिकेट टिमका दीपेन्द्र, भीमसहितका ५ जनाले पाउने भए लाखाैं पुरस्कार

काठमाडौं

सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । सुदूरपश्चिम सरकारले राष्ट्रिय क्रिकेटरहरू दीपेन्द्र सिंह ऐरी, भीम सार्की, सन्दीप जोरा, कमल सिंह ऐरी र अर्जुन साउँदलाई पुरस्कृत गर्ने भएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम र दीपेन्द्रलाई जनही २ लाख, सन्दीपलाई १ लाख तथा टोलीको अन्तिम १८ मा परेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् ।

नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै प्रदेश सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्ने भएको हो ।

नेपालले बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा स्थान बनाएको थियो । यूएईविरुद्धको निर्णायक खेलमा दीपेन्द्रले बलिङमा ८ ओभरमा २ मेडनसहित महत्वपूर्ण २ विकेट लिएर १९ रन मात्र खर्चिए ।

उनले ब्याटिङमा अविजित १० रन जोडे । भीमले महत्वपूर्ण अर्धशतकीय पारी खेले । ७६ बलको सामना गरेका उनले कठिन समयमा ९ चौकासहित ६७ रन बनाए ।

सन्दीप, कमल र अर्जुनले भने श्रृंखलामा खेल्ने मौका पाएका थिएनन् । उनीहरू रिजर्भ खेलाडीको रूपमा टोलीमा थिए । क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै शनिबार मात्र प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका थिए । विश्वकप–२ एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेवाफत कुशल भुर्तेललाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिकसहित सम्मान गर्ने भएको छ ।

शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो । नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका–९ का खेलाडी भुर्तेलले क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए । ओपनिङ ब्याटर भुर्तेलले बिहीबार यूएईसँगको महत्वपूर्ण खेलमा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनको उत्कृष्ट पारी खेलेका थिए ।

उनले लिग–२ प्रतियोगितामा २९ खेलमा पाँच अर्धशतक र एक शतकको सहयोगमा ६९१ रन बनाए । त्यस्तै, लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने घोषणा गरेको छ । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एकदिवसीय मान्यता सुरक्षित गर्न र नेपललाई विश्वकप छनोटमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै शेख दाजुभाइलाई मोटरसाइकल दिने घोषणा गरेका हुन् ।

मेयर सिंहले वीरगञ्जका स्थानीयले राष्ट्रको प्रतिनिधित्व गर्दै शिर उँचो बनाएकोले स्थानीय सरकारको रुपमा पुरस्कृत गरेको बताए । अलराउण्डर आरिफले विश्वकप छनोटको निर्णायक खेलमा बिहीबार यूएईविरुद्ध ६२ बलमा २ चौकासहित ५२ रनको महत्वपूर्ण पारी खेले ।

बिहीबार शून्यमै आउट भए पनि आसिफले लिग–२ मा नेपालका लागि सर्वाधिक रन बनाए । उनले लिग–२ मा ३० खेलमा सात अर्धशतक र एक शतकको सहयोगमा ९३४ रन बनाए । त्यस्तै, आरिफले लिग–२ मा २५ इनिङमा ५ अर्धशतकको सहयोगमा ५९५ रन बनाए । नेपालले बिहीबार यूएईलाई हराउँदै यही वर्ष जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित पाेस्टहरु